सभामुख सापकोटाको पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावित पालिकालाई राहत सामग्री



काठमाडौं पुस ५ । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित चार स्थानिय तहहरुले राहत सामग्री पाएका छन् । राहत सामग्री ठण्डिमा उपयोगी सावित भएको छ ।

जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री सभामुख सापकोटाले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई प्राप्त सामग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले सहयोग उपलब्ध गराएको चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त सबै सामग्रीको सहि तरिकाले वितरण गर्न स्थानीय तहहरुलाई आग्रह गरे । उनले स्थानीय तहहरुले प्राप्त सामान वास्तविक पीडितले प्रयोग गर्न पाउने गरि वितरण गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय तहहरुलाई प्रदान गरिएका सामग्रीहरुमा दुई सय ४० थान न्यानो कटन टेन्ट, तीन सय थान ब्ल्याङ्केट र तीन सय थान उच्च क्षमताको टर्च लाइट रहेका छन् । यस बर्षको बाढी पहिरोका कारण पालिकाले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएको हो ।

सभामुख सापकोटाको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता र सम्बद्ध पक्षबीच छलफल गरेर पालिकाहरुमा भएको क्षति अनुसार राहत सामग्री वितरण गरिएको हो ।
बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० थान टेन्ट, ९५ थान ब्ल्याङ्केट र ९५ थान टर्च लाइट प्रदान गरिएको छ । दोस्रो क्षति भएको जुगल गाउँपालिकाले ७० थान टेन्ट, ८० थान ब्ल्याङ्केट र ८० थान टर्च लाइट प्राप्त गरेको छ । यसैगरी तेस्रो क्षति भएको भोटेकोशी गाउँपालिकाले ५५ थान टेन्ट, ७० थान ब्ल्याङ्केट र ७० थान टर्च लाइट पाएको छ भने विपद्बाट क्षतिका हिसाबले चौथो स्थानमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ टेन्ट, ५५ थान ब्ल्याङ्केट र ५५ थान टर्च लाइट प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले विपद संकटग्रस्त घोषणा पछिका कार्यक्रम लागू हुने अवस्थामा रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तिको सँख्या ३ सय ५० भन्दा धेरै रहेको प्रारम्भिक अध्ययनले देखाएको बताए । सामग्री बुझेपछि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको बताए । भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणकालागि सभामुख सापकोटाप्रति आभार प्रकट गरे ।

यो बर्षातमा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रविसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्ग लगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सभामुख सापकोटाले सहयोगका लागि अपिल गर्नु भएको थियो । सोही अपिल पछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सबै सामग्रीको स्थानीयह तहहरुको आग्रहमा भन्सार विभागले कर तथा महशुल छुट गरेको यसको संयोजन गर्नुभएका सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । पाठकका अनुसार चीनले ८ लाख ५८ हजार युआन बराबरको राहत सामग्री पठाएको हो । जसको नेपाली मुल्य १ करोड ५५ लाख बढी हुन आउँछ ।

सिन्धुपाल्चोकमा २०७७ असार २४ गते राति बाह्रविसे नगरपालिकाको जम्बु, खागदलमा पहिरो गएको थियो । सभामुख सापकोटा २५ गते एक दिन अघि शल्यक्रिया गरिएको आँखामा पट्टि बाँधेर घटनास्थल पुग्नुभई त्यहाँको अबस्थाबारे जानकारी लिएका थिए । उनले सोही दिन चौतारा पुगेर विपद् व्यबस्थापन समितिका उपलब्ध अधिकारीहरुसँग छलफल गरि राहत तथा अन्य आवश्यक कामका लागि तत्काल लाग्न सम्बद्ध सबैलाई आवश्यक निर्देशन दिएका थिए ।

यस्तै साउन ३० गते जुगलको लिदीमा भीषण पहिरो गएको केही घण्टामा पहिरोस्थल पुगेर उद्धार तथा राहतका लागि विशेष भूमिका निर्वाह गरेका थिए । सुरुमा सदरमुकाम चौतारा पुगेर आफू चढेर गएको हेलीकोप्टरमा सुरक्षाकर्मी पठाएर सोही हेलीमार्फत ४ घाइतेको उद्धार गराएका उनले पहिरोस्थल पुगेर जानकारी लिई, राहत, उद्धार तथा स्थानान्तरणको विषयमा ढुक्क हुन स्थानीयलाई आग्रह गरेका थिए ।

सभामुख सापकोटा अर्को भीषण पहिरो लगत्तै भदौ २८ गते जिल्लाको बाह्रविसे ७ को नागपुजे, भीरखर्क र नेवार टोल पुगेका थिए । उनले पहिरोले क्षति पुर्‍याएको स्थानहरुको स्थलगतरुपमा जानकारी लिएपछि पहिरो पीडित/प्रभावितहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्