कृषिका लागि विश्व बैंकले दिने भयो नौ अर्ब ५० करोड



काठमाडौं, पुष ७ । दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजना सञ्चालनका लागि सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषिक्षेत्रको पुनःस्थापना र उत्पादन वृद्धिका लागि ऋण दिएको हो । यस कार्यक्रमअन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सृजना गरिनेछ । सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्