डा. खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त



काठमाडौं पुस ७ ।

डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नेपाल राष्ट्र बैंकको अधिकृतबाट करिअर सुरू गरेका उनलाई पूर्व एमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो ।

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए ।

खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए । सांसद नरहेपछि छ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्