निर्वाचनको पक्षमा उभियो लोकतान्त्रिक पार्टी, संविधान दुरुपयोग रोक्न संशोधनको माग



काठमाडौं पुस ८ । नेपाल लोकतान्त्रिक पार्टी निर्वाचनको पक्षमा उभिएको छ । प्रतिनिधिसभा विघटनका विषयमा अध्यक्ष भानुराम डगौरा थारु र कार्यवहाक महासचिव हितबहादुर मोक्तानले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा निर्वाचन हुनुपर्ने माग अघि सारेका हुन् ।

‘प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतका निर्णयबाहेक तोकिएको मितिमा निर्वाचन हुनुपर्ने यसै विज्ञप्तिबाट माग गर्दछौं’ विज्ञप्तिमा लेखिएको छ ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ गर्दै सबै निवेदनहरु संवैधानिक इजलासमा पठाइएको छ ।

लोकतान्त्रिक पार्टीले संसद् विघटन लगायत विषय संविधानमा अस्पष्ट रहेको भन्दै संविधान संशोधनको विषयलाई जोड दिइएको छ । ‘प्रतिनिधिसभा विघटन सम्बन्धमा संविधानको धारा ७६ आकर्षित हुँदैन । संविधानको धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटनबारे उल्लेख छ तर कस्तो अवस्थामा विघटन हुने भनी प्रस्ट छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘धारा ८५ मा संविधानबमोजिम भनिएको छ तर संविधानको कुन धारा भनी उल्लेख नहुँदा यस धाराको दुरुपयोग जहिले पनि हुन सक्ने भएकोले संविधानमा भएका यस्ता त्रुटिलाई संशोधन गरी संविधानलाई पूर्णता दिनुपर्छ भनी हाम्रो माग छ ।’

यसैबीच लोकतान्त्रिक पार्टीले टीकापुर घटनाका आरोपितहरुलाई उच्च अदालत सुदूरपश्चिम दिपायलले जिल्ला अदालत कैलालीको फैसला सदर गर्नुको साथै थप सजाय सुनाएको भन्दै आपत्ति प्रकट गरेको छ । न्यायका लागि उच्च अदालतमा गएका आरोपितहरुले न्यायको सट्टा थप सजाय पाएका भन्दै उक्त पार्टीको आपत्ति देखिन्छ ।

टीकापुर घटना राजनैतिक भएको भन्दै लोकतान्त्रिक पार्टीले तत्कालीन प्रस्तुत गरिएको गरिशचन्द्रलाल र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनहरुका आधारमा न्याय निरुपण हुनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्