संविधानको रक्षार्थ सम्बद्ध सबै संवेदनशील बन्नुपर्ने बेला आयो : सभामुख सापकोटा



काठमाडौं पुस ८ ।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले नेपालको संविधानको धारा ९३ ९१० बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको विज्ञप्तिमा जनाएका छन् ।

संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उनले बताएका छन् ।

यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उनले जनाएका छन् ।

विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरण गरिएको समेत विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्