नेकपाको दुबै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं,पुष ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको बिहिवार छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको छ भने ओली पक्षको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने बताइएको छ । बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको छ ।

यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो भने हिजो संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो ।

म‌ंगलबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले भने केन्द्रीय कमिटीलाई १ हजार १९९ सदस्यीय बनाएर ७८ मंसिरका लागि महाधिवेशनको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्