पश्‍चिमी वायुको प्रभावले नेपालका अधिकांश भूभागमा बाक्लो हुस्सु



काठमाडौं पुस ९ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ ।

पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । । “मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ”, मानन्धरले भनिन् ।

हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ ।

मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्