नेप्से ३० अंकले घट्यो, ५ अर्ब बढीको कारोबार



काठमाडौं पुस ९ ।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २०३८ दशमलव ६३ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक २९ दशमलव ८३ अंकले घटेको हो । साताको पहिलो दिन संसद् विघटन भएको र साताभर देखिएको राजनीतिक घटनाक्रमको प्रभावको छाया सेयर बजारमा देखिँदा साताभर उतारचढाव देखिएको हो । बिहीवार २०४ कम्पनीको ४७ हजार ९७६ पटकको कारोबारमा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बरावरको सेयर खरिदबिक्री भएको छ ।

पछिल्लो राजनीतिक घटना क्रमका कारण साताको पहिलो दिनदेखि नै निक्कै उतारचढाव देखिएको बजार समग्रमा भने स्थिर रह्यो । आइतबार बजार खुल्दा २०३८ अंक रहेको बजार संसद विघटन भएपछि एक दिन करिब अंकले घटेको थियो भने अर्को दिन पुनः सय अंक हाराहारीले बढेको थियो । अन्य दिनमा नियमित हुने उतारचढावमै कारोबार भएपछि बजार गत हप्ताकै बिन्दुमा आएर रोकिएको छ ।

पछिल्लो समयमा शेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी भएको देखिन्छ । बढेको बजारमा प्रोफिट बुक गर्न थालेसँगै आजको बजार बजार घटेको हो । बिहीबार कारोबारमा आएका १२ समूहमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत र होटल समूहको परिसूचक ४ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ०६ प्रतिशत घटेको छ ।

त्यसैगरी बिहीवार सोल्टी होटलको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ भने समृद्धि फाइनान्सका सेयरधनीले ८ दशमलव ११ प्रतिशतले गुमाएका छन् । रकमका आधार सर्वाधिक कारोबार गर्ने कम्पनीमा नबिल बैंक अगाडि छ । कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयर कारोबार धेरै भएको हो । राजनीतिक अस्थिरताका कारण लाभांश बुक गर्ने सिजनमा लगानीकर्ता भने अन्योलमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्