कांग्रेस एकजुट भएर स्थानीय तह निर्वाचनको तयारीमा लाग्नुपर्छ : महामन्त्री पौडेल



काठमाडौँ, मङ्सिर १३ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ ले शनिबार आयोजना गरेको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकजुट हुन आवश्यक रहेको बताउनुभयो।

पार्टीका वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै महामन्त्री पौडेलले जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै सम्पन्न हुने जानकारी दिनुभयो। पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएका उम्मेदवारलाई निराश नभई आगामी दिनमा निर्वाचित हुने लक्ष्यसहित सक्रिय हुन उहाँले आग्रह गर्नुभयो।

“जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सधैँ अग्रपङ्क्तिमा रहनुपर्छ,” उहाँले भन्नुभयो।

कांग्रेस राजनीतिको विश्वविद्यालय तथा बलिदान र समर्पणको इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै पौडेलले पार्टी शासन गर्न नभई जनताको सेवा गर्न बनेको बताउनुभयो। बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसकै विचारले बसालेको दाबी गर्दै उहाँले विगतमा फरक धारमा रहेका शक्तिहरूले समेत अहिले यही व्यवस्थालाई स्वीकार गरेको बताउनुभयो।

उहाँले स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकको मन जित्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा उभिन निर्देशन दिनुभयो।

कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना आगामी स्थानीय तह निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचन लक्षित सङ्गठन परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सो अवसरमा काठमाडौँ क्षेत्र नं. ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरिएको थियो।

त्यस्तै, काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापतिसहित १५ वटै वडाका सभापतिहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्