संयोजक ऐनसिंह महरलाई कारवाहीको सिफारिस



काठमाडौं पुस १० ।

नेकपा विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ । यसै क्रममा नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओली पक्षमा लागेका संयोजक ऐनसिंह महरलाई कारवाहीको सिफारिस गरेका छन् ।

महर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले उनलाई कारवहीको सिफारिस गरिएको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल वनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन किर्तन गर्ने काममा मात्र तल्लिन हुन थाल्नुभयो । उहाँले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो’, विज्ञप्तिमा कारवाही गर्नुपर्ने कारणबारे खुलाइएको छ ।

त्यस्तै कोभिड १९ विरुद्धको स्वास्थ्य सामाग्रीमा भएको भष्ट्राचार, यति र ओम्नीको नाममा भएको भ्रष्टाचार, वालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अनेरास्ववियूको दायित्वलाई पूर्ण रुपमा महरले लत्याएर तिनको ढाल वनेर प्रस्तुत भएको पनि तामाङ पक्षले बताएको छ ।

अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको र उक्त कार्वाहीलाई अनुमोदन गर्न पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय कमिटी समक्ष शिफारिश गरिएको अनेरास्ववियु तामाङ पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्