प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल



काठमाडौं पुस ११ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेको छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले त्यसमा सकृय सहभागिताका लागि देउवाले सबैमा अपिल गरेका हुन् ।

देउवाले भने, विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली काँग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय गराएको देउवाको भनाइ छ । उनले अहिले काँग्रेसको सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको पनि देउवाले जानकारी दिए ।

उनले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्