संसद विघटन विरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी




काठमाडौं पुस १२ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा एकलाख नागरिक–कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने कदमविरूद्ध पुस १४ गते जनसागर उतार्ने र संसद् पुनस्र्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्ने उनीहरूले बताएका छन् ।

पुस १४ को तयारीका लागि आइतबार बिहान प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए ।

उक्त बैठकले प्रधानमन्त्री र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमकाविरूद्ध एक लाख नागरिक सडकमा उतार्नेगरी तयारी गरेको नेता खनालले बताए ।

प्रचण्ड–नेपाल समूहले आजै देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरका कमिटीहरूको भेला गरिरहेको छ । भेलामा कार्यकर्ता परिचालन र सङ्घर्षलाई प्रभावकारी बनाउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । प्रचण्ड समूहले आज पनि ओलीको कदमविरूद्ध सङ्घर्षका विविध कार्यक्रम आयोजना गरिरहेका छन् । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ ।
यसैबीच १४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए ।

आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्