ओली र दाहाल–नेपाल पक्षबीच कञ्चनपुरमा विवाद



महेन्द्रनगर पुस १२ ।

नेकपा कञ्चनपुरको पार्टी कार्यालयमा दुबै पक्षबीच विवाद भएको छ।

आइतबार दिउँसो १२ बजे प्रचण्ड–नेपाल पक्षको विस्तारीत जिल्ला भेला आयोजना गरिएको थियो। ओली पक्षले गुटको भेला पार्टी कार्यालयमा गर्न नपाइने भन्दै मूलगेट, कार्यालय र सभा कक्षमा ताला लगाएको थियो।

ओली पक्षले पार्टी कार्यालयको मुल गेटमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षले तोडिदिएपछि विवाद सिर्जना भएको थियो। ओली पक्षका अनेरास्ववियुको केन्द्रीय सदस्य कमल रोकायाले न्यायालयबाट पार्टीको आधिकारिक नहुँदासम्म पार्टी कार्यालयमा गुटको कार्यक्रम गर्न नहुने भन्दै तालाबन्दी गरेको उनले बताए।

प्रचण्ड–नेपाल पक्षले भने पार्टी कार्यालयमा अवरोध गर्नु गैरलोकतान्त्रिक चरित्र भएको भन्दै कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन्। अनेरास्ववियु कञ्चनपुरका सह संयोजक ओम बस्नेतले पाटी कार्यालयमा ताला लगाउनु गलत भएको भन्दै आधिकारिक निर्णय नआएसम्म पार्टी कार्यालय स्वतन्त्र छोड्नुपर्ने बताएका छन्।

जिल्ला कमिटि विघटन नगरेको अवस्थामा जिल्ला कमिटिले आफ्ना कार्यक्रम गर्न पाउनुपर्नेप्रचण्ड–माधव पक्षका नेकपाका नेता उर्वा दत्त पन्तले बताए। नेकपा पार्टी कार्यालयमा दुवै पक्षबीचका कार्यकर्ताबीच केहीबेर तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति बढाएको छ। ओली पक्षले पार्टी कार्यालयमा कार्यक्रम गर्न नदिएपछि प्रचण्ड–नेपाल पक्षको विस्तारीत जिल्ला भेला प्रभावित भएको छ।

पार्टी कार्यालय परिसरमा कार्यक्रम गर्न खोजे पनि अवरोध सिर्जना भएपछि कार्यक्रम स्थगित भएको छ। नेकपाका जिल्ला सचिव तथा सुदूरपश्चिम प्रदेश सभा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारालामा तामाङले असहज परिस्थिति देखिएकाले विस्तारीत भेला प्रभावित भएको बताए।

प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालयमा कुनै कार्यक्रम नगर्ने सहमति भएपछि ओली पक्षले लगाएको ताला खुलेको छ।

प्रतिक्रिया दिनुहोस्