सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्चकोआदेश आउनेमा भर छैन : डा. भट्टराई



काठमाडौं पुस १२ ।

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् ।

जसपाले आइतबार काठमाण्डौमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताए।

अदालत सार तत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखी भएकाले अदालतसँग झिनो आशा भए पनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

अध्यक्ष भट्टराईले ुअसंवैधानिकु कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै नले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताए।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक–पटक प्रतिगमन गरेको टिप्पणी गरे। अहिलेको प्रतिगमन केबल कुर्सीको लागि भएको उनको भनाइ छ । उनले प्रतिगमन नटिक्ने भन्दै नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए।

विरोध सभामा सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई, नेता राजेन्द्र महतो, अशोक राईलगायतको उपस्थिति रहेको थियो । जसपाले संसद् विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्