ओलीले प्रतिगमन गरेको भन्दै सोमबार कांग्रेसको देशव्यापी आन्दोलन



फाइल तस्बिर

काठमाडौं पुस १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो । सभापति शेरबहादुर देउवा पक्ष संसद पुन:स्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

आजको प्रदर्शनलाई कांग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् । यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् भने महामन्त्री शशांक कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

सभापतिबाहेक शीर्ष नेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अधिकांश केन्द्रीय सदस्य आफ्नो निर्वाचनको कार्यक्रममा सहभागी हुने छन् ।

यसैबीच नुवाकोटमा पनि निर्वाचन क्षेत्रगत रुपमा प्रदर्शनको तयारी रहेको कांग्रेस जिल्ला सभापति जगदीशश्‍वर नरसिंह केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्