चिनियाँ टोलीद्वारा प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै भेट



काठमाडौं पुस १३ । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ ।

चिनियाँ टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको छ ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्