बाजुरामा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, चार जना घाइते



बाजुरा, मङ्सिर १२ । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ करिब ६ः३० बजे ट्याक्टर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको थियो। सोही ठाउँकी ५२ वर्षीया रामसरा देवी सिंहको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

दुर्घटनामा ट्याक्टर चालकसहित अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, २२ वर्षीया सङ्गीता शाही र ४५ वर्षीय सिद्धा ओड रहेका छन्। उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ त ४६८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्