नेकपा एकता कसरतमा चीन



काठमाडौं, पुस १४ । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनीतिक सहकार्य र साझेदारीमा केन्द्रित रहेको प्रवक्ता च्येनलको भनाइ छ । कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने चीनको नीति नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने चीनको भ्रमण अस्वाभाविक मानिएको छ । नेपालमा संसद् विघटन र नेकपा विभाजनले ल्याउने अस्थिरताका कारण चीनले चिन्तासमेत व्यक्त गरेको छ ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओ येझाउ नेतृत्वको चार राजनीतिज्ञ र दुई उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी यतिखेर नेकपाका नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।

चिनियाँ टोलीले यस पटकको भ्रमणमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेट्नुलाई पनि अर्थपूर्ण रूपमा लिइएको छ । सोमबार सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ टोलीले नेकपा एकताको विषयमा छलफल गरेको बुझिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्नसमेत सुझाव दिएको छ । संसद् विघटन फिर्ता लिएर भए पनि नेकपाको एकता कायम राख्न चिनियाँ राजनीतिक टोलीले सुझाव दिएको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्