धानको उत्पादन बढ्यो



काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको धान उत्पादन बढेको जानकारी दिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष चैतेधान र वर्षेधान दुवै गरी ७० हजार ८ सय ३१ मेट्रिकटन वृद्धि भएको हो ।

यस वर्ष नेपालमा कुल धान उत्पादन परिमाण ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुगेको छ । गतवर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७९ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष बन्दाबन्दीका कारण कामदारको सहज उपलब्धता, लगातारको सक्रिय मनसुन र बिउबिजन उपलब्धतामा सहजीकरण आदि कारणले धान उत्पादन बढेको बताइएको छ ।

विज्ञप्तिअनुसार यस वर्षको उत्पादकत्व ३ दशमलव ८२ पुगेको छ, जुन गतवर्षको भन्दा शून्य दशमलव २८ प्रतिशत बढी हो । यो उत्पादकत्व हाल सम्मकै उच्च हो ।

चालू आर्थिक वर्षमा चैते र वर्षे गरी कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा धानखेती गरिएको थियो । जुन गतवर्षको भन्दा करीब १५ हजार हेक्टर बढी हो । मन्त्रालयले विगतका ५ वर्षमा नेपालमा भएको धान उत्पादनको विश्लेषण गर्दै आर्थिक वर्ष २०७३÷७४ का तुलनामा यस वर्षको उत्पादन ७ दशमलव ४८ प्रतिशतले वृद्धि भएको बताएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्