कांग्रेस कसको हो भन्ने कुरा इतिहासले बताउँछ : डा. महत
सप्तरी, मंसिर १२ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले आधिकारिक कांग्रेसको दाबी गर्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत शुक्रबार सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका महतले पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता–कार्यकर्तालाई कारबाही गर्ने सभापति थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो भन्दै प्रश्न गरे ।
कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने उद्देश्यले कसैको नियोजित पात्रका रूपमा काम गर्नेहरूलाई पार्टीको वास्तविक उत्तराधिकारी मान्न नसकिने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस जसले निर्माण गर्यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?’ महतले प्रश्न गरे ।
उनले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको दाबी गरे । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, बीपी पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले यही समूह आधिकारिक कांग्रेस भएको जिकिर गरे ।
महतले विधि र विधानले नचिनेको प्रक्रियाबाट स्वघोषणाका आधारमा बनेको नेतृत्वलाई आधिकारिक मान्न नसकिने बताए । उनले कांग्रेसको विचार, नीति र सिद्धान्तमा प्रतिबद्ध नेता तथा कार्यकर्तालाई कारबाही वा सेवा–सुविधा कटौतीको डरबाट विचलित नहुन आग्रह गरे ।
‘हामी नीति, विचार र निष्ठा त्यागेर नियमित तलब र आयआर्जनका लागि राजनीतिमा लागेका होइनौँ,’ उनले भने, ‘लोकतन्त्र र विधिका लागि हाम्रा अग्रजहरूले प्राण आहुति दिनसमेत तयार भएर काम गर्नुभयो । हामी पनि त्यही बाटोमा छौँ । त्यसैले सेवा–सुविधा काटिन्छ कि भनेर डराउनुपर्ने अवस्था छैन ।’

