काठमाडौंको कपन आकाशेधारामा किराना पसलमा चोरी



काठमाडौं पुस १४ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधारा चोकमा रहेको एक किराना पसलमा चोरी भएको छ ।

राम श्रेष्ठको टहरामा भाडामा राखिएको किराना पसलमा सोमबार राति चोरी भएको हो । पसल सञ्‍चालक नुवाकोट शिवपुरी ५ कुख्रेकी रन्जिता तामाङले कोठाबाट बिहान पसल खोल्न जाँदा सटरको दुवै ताला काटिएको अवस्था देखिएपछि चोरी भएको थाह भएको बताइन् । तामाङका अनुसार नगद २ हजार र पसलमा रहेका चुरोट लगायत सामान चोरी भएको छ । सामान के के लगे भन्ने जाँच भइरहेको उनले बताइन् ।

चोरी भएको थाह भएपछि बिहान स्थानीय भेला भएका थिए । त्यसपछि करिब ३० मिटरको दुरीमा रहेको महानगरीय प्रहरी विट आकाशेधारामा खबर गरेका थिए । घटनास्थल खटिएका प्रहरी हवल्दार दिपेन्द्र नेपालीले आफू पुग्नु अगाडि नै छरपस्ट सामान मिलाइएको र नजिकै सीसीटीभी नभएका कारण घटना अनुसन्धानमा समस्या भएको भन्दै फर्किएका थिए ।

साझा पथसँग हवल्दार नेपालीले घटनास्थलमा एक चप्पल फेला परेको, दुई ताल्चा रडले फुटाएको देखिएको र शंकास्पद व्यक्ति अहिलेसम्म पत्ता नलागेको भन्दै खोजतलास जारी राख्ने बताए । कोही, कसैमाथि शंका लागेमा आफूहरुलाई खबर गर्न समेत पसल सञ्‍चालकलाई भनिएको हवल्दार नेपालीले बताए ।

पछिल्लो समय कपन क्षेत्रमा हत्या, हिंसा, चोरी लगायत अपराधका घटना बढेको हवल्दार नेपालीले बताए । आकाशेधारा, बालुवाखानीजस्ता महत्वपूर्ण चोकमा सीसीटीभीको चुस्त रुपमा जडान नहुनु, टोलसुधार समितिहरु सक्रिय नहुनुले चोरी डकैती गर्नेहरु झनै सक्रिय भएको उनको भनाइ थियो । उनले प्रहरीले ड्युउटी गरेन भन्ने नठान्न आग्रह गर्दै आफूहरु निरन्तर खटिरहे पनि घटना कम नभएको बताए ।

यसअघि मंसिर १ गते राति कपन बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगो लगाएर नुवाकोटका कृष्णबहादुर तामाङको हत्या भएको थियो । अन्य दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्