तिब्बतमा हिउँपहिरोले थुनिएको नदी खुलेपछि रसुवामा बाढी आएको अनुमान



काठमाडौँ,भदौ १०— तिब्बत क्षेत्रमा हिउँपहिरोका कारण थुनिएको नदी अचानक खुलेपछि रसुवामा ठूलो बाढी आएको अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतबाट बिहान ८ बजेर ४० मिनेटमा बाढी नेपाल प्रवेश गरेको जानकारी दिइन्। सरकारी निकायले भने बिहान ९ बजेतिर बाढीबारे सूचना पाएको उनले बताइन्।

बाढीको जोखिम र उद्धारका लागि विपद्सँग सम्बद्ध सबै निकायलाई तत्काल परिचालन गरिएको प्रवक्ता महतले जानकारी दिइन्। साथै, निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र परिचालन नगर्न निर्देशन दिइएको उनले बताइन्।

प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कामलाई तीव्रता दिने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्