रसुवाको बाढीले विद्युत गृह र प्रसारण संरचनामा क्षति, केही क्षेत्रमा आपूर्ति अवरुद्ध



रसुवा, भदौ १०— भीषण बाढीले रसुवास्थित नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र प्रभावित भएका छन्। साथै त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको जनाएको छ।

त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीको प्रभावमा परेका छन्। विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति पूर्ण रूपमा नियमित नभएसम्म धैर्य गर्न उपभोक्तासँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्