भोटेकोशी बाढी : जोखिममा परेकाको उद्धारमा सबै स्रोत–साधन परिचालन गर्ने निर्णय



काठमाडौँ, भदौ १० — विपद् प्राधिकरणको बैठकले भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउने निर्णय गरिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय भएको जानकारी दिए। उनका अनुसार हालसम्म उद्धारका लागि आठ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको छ।

घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए। तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण आइनसकेको भन्दै आङदेम्बेले अहिलेको प्राथमिकता उद्धार कार्य हुनुपर्ने बताए। उनले सरकारले उपलब्ध सबै स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिए।

कुन मन्त्रालयलाई कसरी प्रभावकारी रूपमा क्रियाशील बनाउने र आवश्यक रकमको व्यवस्थापन कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्ष नभनी सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्