नेकपा (प्रचण्ड-नेपाल) पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, जुलुस निकालिँदै [अपडेट]



काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जुलुस निक्लन थालिएको छ ।

असंवैधानिक संसद विघटनका विरुद्धमा नेकपाले मंगलबार देशभर शक्ति प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा हुने जनप्रदर्शनमा नेकपाले जुलुस रुट समेत निर्धारण गरेको छ।

काठमाडौंको रत्नपार्कबाट शुरु हुने जुलुस सहिद गेट, सुन्धारा हुँदै पुनः रत्नपार्क, बागबजार, पुतलीसडक चोक हुँदै प्रदर्शनीमार्गस्थित सभास्थलमा प्रवेश गर्नेछ । कुलेश्वर, टेकुबाट शुरु हुने जुलुस त्रिपुरेश्वर र सुन्धारा हुँदै रत्नपार्कको मुल जुलुसमा जोडिने छन् । न्युरोड गेटबाट शुरु हुने जुलुस पनि रत्नपार्कको मूल जुलुसमा मिसिने छ । नयाँ बानेश्वर र कुपण्डोलबाट शुरु हुने जुलुस पनि त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्कको मूल जुलुसमा जोडिने छन् । यसैगरी नक्साल, लैनचौर, मैतिदेवीबाट शुरु हुने जुलुसहरु पनि रत्नपार्कमा पुगेर जोडिने छन् ।

प्रदर्शनीमार्गमा हुने विरोधसभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन् । जुलुस अमर्यादित नारा नलगाउन, तोकिएका नारा मात्रै लगाउन र अनुशासित हुन समेत पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई नेकपाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्