ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहन्छ : प्रवक्ता श्रेष्ठ



काठमाडौं पुस १४ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ।

पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सामेल भएका छन् ।

काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ ।

सबै क्षेत्रको जुलुसको नेतृत्वका लागि केन्द्रीय नेताहरु नै खटाइएको छ । यसैबीच नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको पनि बताए ।

उनले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए । त्यसक्रममा उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । साथै उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्