प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात



दाङ पुस १४ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सुखद सुरुवात गरेको छ ।

मंगलबार भएको समुह बीको दोस्रो खेलमा बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै प्रदेश १ ले प्रतियोगिताको विजयी सुरुवात गरेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको बागमती १६ ओभर ४ बलमा ६० रन बनाउँदा अलआउट भयो । कन्चन श्रेष्ठले १३ तथा सुमन खतिवडाले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

प्रदेश १ की निग्मा तामाङले सर्वाधिक ३ तथा अप्सरी बेगमले २ विकेट लिइन् । यसअघि लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ खेलेकी थिइन् । ५५ बलमा ६ चौका प्रहार गर्दै रुबिनाले ५६ रन बनाइन् । अप्सरी बेगमले १६ रनको अविजित पाली खेल्दा अन्य खेलाडी सस्तैमा पवेलियन फर्किए ।

बागमतीका आरती बिडारीले २ तथा अश्मिना कर्मचारी तथा कृष्मा गुरुङले समान १/१ विकेट हात पारे । प्रतियोगितामा आज मंगलबारबाट समुह बी को खेलहरु सुरु भएको हो । मंगलबारनै समूह बीको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । यसअघि समुह ुबीु बाट विभागीय टोली एपीएफ र लुम्बिनी सेमिफाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्