कोरोना खोप: स्वास्थ्य मन्त्रालयलाई अर्थको अनुमति



काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ ।

स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन पत्राचार गरेकोमा अर्थले खरीदका लागि अनुमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कुल जनसंख्याको ३ प्रतिशतलाई पहिलो चरणमा खोप दिनेगरी खरीद प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

‘एकैफेर ठूलो संख्यामा खोप खरीद गर्नै कठिन हुन्छ, विभिन्न चरणमा खोप खरीद गर्नेछौं, बजेटको सुनिश्चिता गरिदिने प्रतिबद्धताका साथ अर्थले खोप खरीदका लागि अनुमति दिएको छ,’ गौतमले भने ।

उनका अनुसार नेपालमा खोप ल्याउन मन्त्रालयले निरन्तर गृहकार्य गरिरहेको छ तर अझै कोरोनाको खोप नै भनेर ढुक्कका साथ ल्याउने अवस्था नरहँदा अलमल भएको छ ।

एकैपटक ठूलो परिणाममा खोप खरीद नगरिने र चरणबद्ध रूपमा खरीद प्रक्रिया अघि बढ्ने भएकाले सोहीअनुसार स्रोतको जोहो गर्नेगरी अर्थका अधिकारीहरूले पनि गृहकार्य अघि बढाएका छन् ।

स्वास्थ्य मन्त्रालयको चालू वर्षको बजेट र अन्य शीर्षकबाट रकमान्तर गरेर खोपका लागि स्रोत व्यवस्थापन गर्नेगरी गृहकार्य अघि बढेको अर्थका एक उच्च अधिकारीले बताए । उनीहरूका अनुसार विभिन्न चरणमा खोप ल्याउँदा करीब ४८ अर्बको हाराहारीमा रकम जोहो गर्नुपर्ने अर्थलाई दबाब छ ।

‘संसद् नभएको अवस्थामा पूरक बजेट ल्याउने अवस्था छैन । चालू वर्षको बजेटबाटै खर्च हुन नसकेको बजेट कोरोनाको खोप खरीदमा प्रयोग गरिनेछ,’ अर्थ स्रोतले बतायो ।

सरकारले कोरोना रोकथाम तथा खोप खरीद गर्न स्थापना गरेको कोरोना कोषमा २० करोड रुपैयाँ छ ।

सोही बजेट पनि खोप खरीदमा प्रयोग गरिने छ । सरकारले १४ वर्ष माथिका नागरिकलाई आवश्यकता र प्राथमिकताका आधारमा निःशुल्क कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

अर्थका अनुसार कोरोना खोप खरीदका लागि स्रोत खासै अभाव हुने थिएन तर अप्रत्याशित रूपमा सरकारले वैशाखको चुनावको घोषणा गर्दा स्रोतमाथि दबाब परेको हो ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्