नुवाकोटको पञ्चकन्या, शिवपुरी, लिखु र ककनीका ९ विद्यालयलाई न्यानो कपडा वितरण



शिवपुरी गाउँपालिकाको कुम्भेश्वर माध्यमिक विद्यालयका शिक्षक/विद्यार्थी न्यानो सामग्री पश्चात्

नुवाकोट,पुष १५ । नुवाकोटको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयलाई एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले सोमबार र मंगलबार दुई दिन गरी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडाको रुपमा सर्ट पाइन्ट, जकिट, झोला वितरण गरेको हो।

संस्थाका गोकर्ण गुणीका अनुसार न्यानो पोशाक वितरण गरिएको विद्यालयहरुमा शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालय,कुम्भेश्वर माध्यामिक विद्यालय र लिखु गाउँपालिकाको सिद्दी गणेश आधारभूत विद्यालय रहेका छन् । त्यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको सुन्दरा प्राथमिक विद्यालय, बच्छला माध्यमिक विद्यालय र ककनी गाउँपालिकाको आरुखर्क छाप प्राथमिक विद्यालय, अरुणोद्दय प्राथमिक विद्यालय, मनकामना प्राथमिक विद्यालय, ब्रम्हायणी माध्यमिक विद्यालय र गोरखा जिल्लामा रहेको गण्डकी प्राथमिक विद्यालयका शिक्षक विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिएको छ।

शिवपुरी गाउँपालिकाको ग्रामीणदेवी माध्यमिक विद्यालयले संस्थाका प्रतिनिधिलाई स्वागत गर्दै

संस्थाले १० विद्यालयका ९४५ विद्यार्थी र १५३ शिक्षक तथा कर्मचारीलाई जाडोको न्यानो कपडा वितरण गरेको संस्थाका अर्का प्रतिनिधि अर्जुन थपलियाले बताए।जसमध्ये शिवपुरीको ग्रामीणदेवी माध्यमिक विद्यालयका १७३ जना , कुम्भेश्वर माध्यमिक विद्यालयका २४१ जना , पञ्चकन्याको बच्छला माध्यमिक विद्यालयका १३१ जना , सुन्दरा प्राथमिक विद्यालयका ११९ जना, लिखु गाउँपालिकाको सिद्दी गणेश आधारभूत विद्यालयका ७९ जना विद्यार्थीलाई पोशाक तथा न्यानो कपडा वितरण गरिएको थियो ।

त्यस्तै ककनी गाउँपालिकाको आरुखर्क छाप प्राथमिक विद्यालयका ५० जना, अरुणोद्दय प्राथमिक विद्यालयका ४५ जना, मनकामना प्राथमिक विद्यालयका ३२ जना, ब्राह्मयणी विद्यालयका ९६ जना र गोरखा जिल्लाका गण्डकी प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरिएको संस्थाका अर्का सदस्य विश्व गुरुङले बताए।

संस्थाद्वारा न्यानो कपडा पाएपछि हर्षित लिखुको सिद्दी गणेश विद्यालयका एक बालक

संस्थाद्वारा ३२ थान कम्प्युटर प्रदान

संस्थाले झोला तथा न्यानो कपडा वितरण गर्दै आइरहेको विद्यालयहरुलाई कम्प्युटर प्रदान गरेको छ। पोशाक वितरण कार्यक्रमसंगै सहयोगरत विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउन प्रति प्राथमिक विद्यालय ३ थान र माध्यमिक विद्यालयलाई ४ थान डेल कम्प्युटर प्रदान गरेको संस्थाका प्रतिनिधि गोकर्ण गुणीले बताए।

पछिल्लो चरणमा सहयोगरत लिखु गाउँपालिका वडा नम्बर ६ को सिद्दी गणेश आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्दै प्रतिनिधि गुणीले प्रविधिमैत्री बनाउन ईन्टरनेट ब्यवस्थापनका साथै दिवा खाजाका लागि भवन मर्मत कार्यक्रम अगाडी बढाइएको उल्लेख गरे ।

सहयोगरत विद्यालयलाई दिवा खाजा

लामो समयदेखि जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले विभिन्न विद्यालयलाई दिवा खाजा समेत प्रदान गर्दै आइरहेको छ। आधारभूत तहमा सरकारी तवरको रकममा थप रकम थप्दै संस्थाले पौष्टिक आहारको ब्यवस्थापन गरेको संस्थाका अर्जुन थपलियाले दावी गरे।

दिवा खाजामा रमाउदै बालबालिका

प्राथमिक तहका विद्यालयलाई सरकारले दिदै आएको प्रतिव्यक्ति १५ रुपैयाँ भएतापनि माध्यमिक तहका सबै विद्यार्थीलाई दिवा खाजा दिदै आएको बताए। संस्थाले प्राथमिक तहमा भने सरकारले दिदै आएको प्रतिव्यक्ति रुपैया १५ मा ५ रुपैयाँ थपी खाजा व्यवस्थापन गर्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्