राष्ट्रियसभा हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने



काठमाडौं पुस १६ ।

राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नेताहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो ।

अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ । यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।

यस्तै राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन भएको छ । पहिलो बैठकको अघिल्लो दिन आज सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्