नुवाकोटका १२ वटै स्थानीय तहमा एकैदिन नेकपाको भेला सम्पन्न



नुवाकोट पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले एकैदिन नुवाकोटका १२ वटै स्थानीय तहको बैठक तथा भेला सम्पन्न गरेको छ ।

पुस ७ गतेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार बिहीबार दुई नगरपालिका र १० गाउँपालिकाका नेकपा संगठन समितिको भेला सम्पन्‍न भएको हो । भेलामा विघटित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, प्रदेश सभा सदस्य तथा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, वाग्मती प्रदेश सचिवालय सदस्य रामप्रसाद ढुंगानालगायत नेताहरु सहभागिता थियो ।

केन्द्रीय सदस्य एवं सांसद हितबहादुर तामाङ ककनी गाउँपालिका, सांसद नारायणप्रसाद खतिवडा बिदुर नगरपालिका, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विमला सुवेदी बेलकोटगढी नगरपालिका, प्रदेश सभा सदस्य तथा नेकपा नुवाकोट अध्यक्ष हिरानाथ खतिवडा तादी गाउँपालिका र मेगङ गाउँपालिकामा संविधानसभा सदस्य राममाया बोगटीले सम्बोधन गरेकी थिइन् ।

यस्तै पूर्वसांसद राजेन्द्र प्रकाश लोहनी शिवपुरी गाउँपालिका, वाग्मती प्रदेश सचिवालय सदस्य पुष्प लामिछाने सूर्यगढी गाउँपालिका, वाग्मती प्रदेश कमिटी सदस्य शुभद्रा नेपाल पञ्‍चकन्या गाउँपालिका, वाग्मती प्रदेश सदस्य केशव पुडासैनी दुप्चेश्वर गाउँपालिका, वाग्मती प्रदेश कमिटी सदस्य अच्युत पाण्डे लिखु गाउँपालिकाको भेलामा सहभागी थिए ।

सबै जसो स्थानीय तहले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक तबरबाट गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कडा संघर्ष गर्ने निष्कर्ष निकालेका नेकता नेताहरुले बताएका छन् । उनीहरुका अनुसार भेलामा अत्यधिक नेता कार्यकर्ता सहभागी भएका थिए । पार्टी केन्द्रमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्ड-माधवले प्रमाणित गरिसकेको अवस्थामा नुवाकोटमा पनि त्यो भन्दा बढी प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गरिएको छ ।

संसद् विघटनपछि विभाजित नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्षको कुन नेकपाले वैधता पाउने भन्ने विषय निर्वाचन आयोगले टुंगो लगाउन बाँकी छ ।

उक्त गाउँ कमिटीहरुको बैठकहरुमा प्रदेश कमिटीका सदस्यहरु, प्रदेशस्तरीय विभागीय सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सल्लाहकार सदस्यहरु, जवसका जिल्लास्तरीय नेता कार्यकर्ताहरुलाई आमन्त्रित अतिथिको रुपमा सहभागी गराइएको थियोे । सबै पालिकाहरुमा सरदर ९०% भन्दा बढी सदस्यहरु उपस्थित थिए ।

२५ गतेभित्र सबै वडाहरुका बिस्तारित बैठक सम्पन्न गरिसक्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्