सरकारी ढुकुटीमा ३३ अर्ब बचत



काठमाडौं, पुष १७ । सरकारको ढुकुटीमा करीब ३३ अर्ब रुपैयाँ बचतमा रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी लक्ष्यअनुसार नै पूरा हुँदै गएको र पूँजीगत खर्च बढ्न नसक्दा रु ३२ अर्ब ६१ करोड बचतमा रहेको हो । पुस १० सम्मको आँकडाअनुसार सरकारले जम्मा ३५३ अर्ब खर्च गरेको छ भने रू। ३८६ अर्ब आम्दानी गरेको छ ।

सरकारले वार्षिक लक्ष्यको ३२ प्रतिशत आम्दानी गर्दा खर्च भने २४ प्रतिशत मात्रै गरेको सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल बताउँछन् ।

‘सरकारको आम्दानी लक्ष्यअनुसार नै भएको देखिन्छ । तर, खर्च भने कमजोर छ,’ उनले बताए । सरकारले चाहने हो भने विकास खर्च गर्न राज्यको ढुकुटीमा पर्याप्त रकम रहेको पौडेल बताउँछन् ।

पुस १५ सम्मको विकास खर्चको अवस्था निराशाजनक छ । सरकारले सो अवधिमा १२ प्रतिशतको हाराहारीमा मात्रै खर्च गरेको देखिन्छ ।

खर्च कमजोर हुँदा यति बेला बिल भुक्तानीको चाप महालेखाअन्तर्गतका कार्यालयहरूलाई नरहेको अधिकारीहरू बताउँछन् । दैनिकजसो विकास खर्चतर्फ बढीमा ३० करोडको भुक्तानी हुने गरेको छ भने चालू खर्चतर्फको भुक्तानी ४ अर्बभन्दा बढी हुने गरेको छ 

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्