प्रतिनिधिसभाको पुनर्स्थापना आजको आवश्यकता



रामचन्द्र पौडेल
बीपी कोइरालाले विदेशी शक्तिकेन्द्रको टकरावले दक्षिण एसियामा ठूलो भूमरी आएको बताउनुभएको थियो । ४५ वर्ष अगाडि बीपीले भनेको भूमरी अहिले नेपालमा आइरहेको छ । यसबाट नेपाललाई बचाउनु छ । यसबाट नेपाललाई बचाउने सामथ्र्य राख्ने व्यक्ति चाहिएको छ । कसले बचाउन सक्ने, कसरी बचाउन सक्ने भन्ने आजको छलफलको विषय हो ।

भूमरी कसले ल्यायो, भूमरी कसले नेपालभित्र भित्रयायो ? त्यो केपी ओली हो । केपी ओलीको इशारामा देशभित्र यो भूमरी ल्याइएको छ । संविधानमै नभएको अधिकारलाई प्रयोग गर्नु के हो ! ०६२/६३ को आन्दोलन चलिरहँदा केपी ओली भन्नुहुन्थ्यो– सडक आन्दोलनले गणतन्त्र आउँछ भन्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आयो । उहाँले नपत्याएको, नचाहेको कुरा भयो । संविधानको संरक्षक उहाँ बन्न पुग्नुभयो । नेपालको बिडम्बना हो यो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई ०६२/०६३ मा अस्विकार गर्नुभएको थियो, त्यहीं संविधानलाई उहाँले अहिले मान्दिनँ भन्नुभयो । हुँदै नभएको प्रावधानबाट संसद विघटन गर्नु भनेको यो संविधान मान्दिनँ भन्नु हो । अधिकारै नभएको कुरा गर्नुभयो । राष्ट्रपतिले रोक्नुपर्ने थियो । उहाँले पनि सिंधै घोषणा गर्दिनुभयो । राष्ट्रपति पनि यसमा मिल्नुभयो । प्रतिनिधिसभा भंग भयो भनियो । बास्तवमा भंग भएको छैन । किनभने संविधानमै छैन, कसरी भंग भयो !

राष्ट्रपतिले करेक्सन नगरेपछि हामीले पर्खने ठाउँ अदालत हो । सर्वोच्चले यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो जिकिर हो, बहस हो, वकालत हो । अदालतको बारेमा हामी केही भन्दैनौं है भनेर साथीहरु पन्छिन खोज्नुहुन्छ । यो पन्छिन खोज्ने कुरा के हो ! आफ्नो पक्षको कुरा हामीले वकालत गर्नुपर्छ । मैले आफ्नो जिकिर राखेँ । सम्मानित अदालतले सुन्ने गरेर मैले वकालत गर्दैछु, गर्छु । किनकी संविधान मेरो पक्ष हो । संविधानमाथि जबर्जस्ती भएको छ । संविधान जसले पनि भत्काउन पाउने हो भने चुनावको के अर्थ छ ? चुनावबाट हामी भाग्छौं कहिल्यै भनको होइन । तर, चुनाव गराउने उद्देश्यले प्रतिनिधिसभा भंग भएको होइन । दुई तिहाइको बहुमत हुँदाहुँदै, प्रतिनिधिसभामा कुनै समस्या नआइकन फेरि दुई तिहाइ ल्याउछु भनेर भंग गरेको हो ? भएको दुई तिहाइ फालेर फेरि दुई तिहाइ ल्याउछु भनेर कसरी भन्नुभयो ? यो कसले पत्याउँछ ?

भंग गरेको प्रतिनिधिसभा फेरि ब्यूँताउँला भन्ने भंग गर्नेको मनमा छैन । फेरि अर्को चुनावबाट प्रतिनिधिसभा ल्याउने नियतले अहिले भंग गरिएको होइन, मेरो अन्तरआत्माले भन्छ । यसको पछाडि नेपालमा अन्तर्राष्ट्रिय खिचातानीले ल्याउने भूमरी भित्रयाउन गरिएको खेल हो । नेपाललाई भूमरीमा पार्न यो काम गरिएको छ । लक्षण देखिएको छ । यहाँ कोको आएर गए, हेर्नुभयो होला ? कुदाकुद भइरहेको छ । अन्तर्राष्ट्रिय तानातानको भूमरी भयो कि भएन ? भन्नैपर्दैन । सबैकुरा छर्लंग भइरहेको छ । यहाँ उछिनपाछिन हुन थालिसक्यो अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको । नेपाललाई अफगानिस्तान बनाउन खोजियो । दर्दनाक अवस्थामा पुर्‍याउने कोशिष भइरहेको छ । यो विघटन कुनै पनि हालतमा राष्ट्रको हितमा छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई अनुरोध गर्न चाहन्छु, संविधान पढ्दिनुस् ।

कतिपय साथीहरु भन्नुहुन्छ, कांग्रेसलाई त चुनाव आइहाल्यो नि, क्या मज्जा ! अस्ती हारेको फेरि मौका । यस्तो क्षणिक, तत्कालीन स्वार्थ हेरेर लोकतन्त्र, संविधानको मूल्यमा, ७० वर्षदेखि लडेर ल्याएको व्यवस्थाको मूल्यमा हामी मन्त्री पद चाहँदैनौं । सांसद बन्नको लागि मात्रै सांसद बन्न चाहँदैनौं । संघीय लोकतान्त्रिक गणतन्त्र सहितको सांसद वा मन्त्री बन्न चाहन्छौं । चुनाव, चुनाव भनेर मात्रै भन्ने होइन । संविधानलाई बचाएर लोकतन्त्रलाई संरक्षणसहित चुनावमा जान चाहन्छौं । यसमा अलमलिन पर्ने कुनै कुरा छैन ।

प्रतिनिधिसभाको पुनर्स्थापना आजको आवश्यकता हो । यसले नै नेपाललाई बिग्रहबाट बचाउँछ । नेपाललाई शक्तिकेन्द्रको अखडा बन्नबाट, द्वन्द्वको भूमरीमा फस्नबाट बचाउँछ । चुनाव गर्ने यीनको मनसाय पनि छैन, चुनाव गर्ने परिस्थिति पनि छैन । चुनाव नहुने, केपी ओलीले जनताका प्रतिनिधिलाई सडकमा फाल्दिएर ‘म शासक हुँ, म प्रधानमन्त्री हुँ’ भनेर बसेको कसले देख्न चाहन्छ ! अनि त्यो बेलामा के हुन्छ नेपालमा ? एउटा ठूलो संघर्ष हुन्छ ।
प्रतिनिधिसभा विघटन पनि हुने, अदालतले फिर्ता पनि नगरिदिने चुनाव पनि नहुने भयो भने के हुन्छ ? चुनाव पनि नहुने हो भने हामी पनि संघर्षमा जान्छौं । कार्यसमितिको बैठकमा सभापति (शेरबहादुर देउवा) ले भन्नुभयो, चुनाव नगरी केपी ओली नेपालमा कसरी बस्न सक्छ भनेर । मैले भनेँ, चुनाव नगरेर केपी ओली बस्न नसक्ने परिस्थितिमा जुनबेला आँधीबेहरी आउँला, उनलाई बगाउने आँधीबेहरी, त्यो आँधीबेहरीले तपाईंलाई पनि बगायो भने के गर्नुहुन्छ ? आँधीबेहरी आउनैपर्ने छ भने अहिले नै बचाउनुपर्‍यो ।

कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने एउटा तर्क खुब आइरहेछ । कम्युनिस्टसँग कांग्रेस मिल्दा सबै बिग्रियो भन्छन् । कम्युनिस्टसँग कांग्रेस मिल्दा कहाँ बिग्रियो ? खुलेर छलफल गर्ने बेला हो यो । यदी २०४६ मा गणेशमानजीले ‘तिमीहरु बाममोर्चा बनाएर आऊ, मिलेर यो पञ्चायत फाल्दिउँ’ भनेर संयुक्त संघर्षमा नगएको भए त्यो पञ्चायत जान्थ्यो ? २०४२ मा कांग्रेस एक्लैले पञ्चायतविरुद्ध सत्याग्रह गरेको थियो, जाने भए त्यतिबेलै जान्थ्यो । ०४६ सालमा जब संयुक्त आन्दोलन भयो तब पञ्चायत गयो । संयुक्त आन्दोलन गरेर के कांग्रेसलाई नोक्सान भयो त ? आखिरमा कांग्रेसकै सरकार बन्यो नि । व्यवस्था गयो, कांग्रेसको आफ्नो सत्ता आएको थियो । तपाईं सत्ता चलाउन नसक्ने, ढंग नपुर्‍याउने, आफूले पाएको बहुमतको सरकार टिकाएर बस्न नसक्ने अनि कसलाई दोष दिनुहुन्छ ? आफ्नै ढंग नपुगेर, सुझबुझ नपुगेर, उदारताको कमि, आफ्नै साथीको बीचमा सहिष्णुताको अभावले गर्दा आफैंले फाल्दिएको होइन ? जनताले दिएका थिए । ०४६ सालको आन्दोलनले सत्तामा पुर्‍याएको थियो ।

०६२ मा पनि ज्ञानेन्द्रको तानाशाही आयो । सारा संयुक्त संघर्षले आन्दोलन भयो । त्यही संघर्षबाट आएको परिवर्तनबाट गिरिजाबाबु सर्वशक्तिमान प्रधानमन्त्री बन्नुभयो । कांग्रेसलाई कहाँ नोक्सान भयो ? कम्युनिस्टसँग मिल्ने वित्तिकै सर्वनास भयो भन्ने कुरा हुन्छ ? दुईथरी मान्छेले त्यसो भन्छन् । एउटा, आत्मविश्वास नभएको मान्छेले भन्छन् । कम्युनिस्टसँग मिल्दा कतै लट्पटाइदिन्छन् कि भनेर । आफूमा विश्वास हुनुपर्‍यो, शक्ति हुनुपर्‍यो, जनतालाई रिझाउन सक्ने तागत हुनुपर्‍यो । हाम्रो सिद्धान्त सही छ भन्ने नैतिक शक्ति हुनुपर्‍यो । जनतालाई बुझाएर हाम्रो पक्षमा ल्याउँछौं भन्ने आत्मविश्वास हुनुपर्‍यो ।

अर्को, दरबारपरस्त मान्छेले यो कुरा भन्छन् । कम्युस्टिसँग मिल्दा पुराना प्रतिक्रियावादी फ्याकिन्छन् नि । पुनरुत्थानवादीहरुलाई फेरि मौका त आउँदैन नि यहाँ ? पुनरुत्थानवादीहरु, बास्तवमा भन्ने हो भने दरबार अहिले एकथरी हाम्रो साथीहरुको एउटा भनाइ छ । हामीले राजतन्त्र फाल्न नहुने, राजा फाल्ने कुराले गल्ती भयो कि । यो बीपीले ल्याएको मेलमिलापको सबैभन्दा ठूलो विरोधी, बैरी को हो ? म साक्षी छु । मेलमिलापको बैरी यो दरबार हो । बीपीले राजासँग घाँटी जोडेर आएँ भन्दा उहाँमाथि कस्तो व्यवहार गरियो ? लगेर जेलमा कोचियो । बल्लबल्ल छुटेपछि पोखरा आउने बेला उहाँलाई स्वागत गर्ने कार्यकर्तालाई लगेर थुनियो । मुखमा अलकत्रा दलियो । बीपीलाई सहयोग गर्न गएका धिरबहादुर गुरुङलाई अलकत्रा पोतियो । त्यही राजा होइन, त्यही पञ्चायत होइन ? तिमी पञ्च होइनौं, राजावादी होइनौं अलकत्रा पोत्ने ? हामी विद्यार्थीले जनमत संग्रह गर्दियौं । मेलमिलाप विग्रन्छ कि भनेर बीपीले मान्नुभएको थिएन । गणेशमानजी र किशुनजीले साथ दिनुभयो । बाध्य भएर जनमत संग्रह गर्नुपर्‍यो । त्यो जनमत संग्रहमा किन हराइयो भने, बीपीलाई हराएको हो । जनमतसंग्रह जित्या भने बीपीलाई कसैले रोक्न सक्दैन । फेरि सर्वशक्तिमान प्रधानमन्त्री हुन आउँछ भनेर उहाँकै विरुद्धमा हो पञ्चायत जिताएको र बहुदल हराएको पनि । त्यसपछि हरेकचोटी यो मेलमिलापको विरुद्धमा हामीले राजासँग मिलेर राजाले संवैधानिक परिधिमा बस्ने, जनताले शासन गर्ने, जनताको प्रतिनिधिले शासन गर्ने सम्झौता थियो, राजा र हाम्रो बीचमा । त्यो सम्झौतालाई कसले तोड्यो ? राजाले तोडेका हुन् कि होइनन् ? जनतासँगको अनुबन्ध तोडेर बारम्बार धोका दिँदै आउने अनि फेरि राजतन्त्र भन्ने ? राजतन्त्रले केसम्म गर्‍यो,

गिरिजाबाबुलाई लगेर जाक्यो । माओवादी कसले जन्मायो ? म प्रत्यक्षदर्शी हँु । माओवादी जन्माउने निर्मल निवास हो भनेर त्यही बेलामा भनेको होइन ? माओवादी जन्माएर प्रजातन्त्र र कांग्रेसलाई काट्ने यो दरबार ! मैले गृहमन्त्रीबाट जुन दिन राजीनामा गर्नुपर्‍यो, त्यहाँ कसरी व्यवहार भयो भन्ने मलाई थाहा छ । माओवादीले ६० जना पुलिस रुकुमकोटमा कत्लेआम गरेको, नृशंस हत्या मैले देखेर बेलुका काठमाडौं फर्केर दरबारको कार्यक्रममा गएँ । त्यहाँ दरबारीयाहरुले ‘कांग्रेसले बल्ल खायो, अब हेर्दै जाऊ कांग्रेस कस्तो हुन्छ’ भनेर सारा दरबारीयाहरु त्यो दिन खुच्चिङ भन्ने आफ्नो पुलिस मर्दा । आफ्नो पुलिस मर्दा दरबार मातम मनाएर बस्ने ? अनि यो दरबारलाई ल्याउनलाई अहिले कम्युनिस्टसँग मिल्नुहुँदैन भन्नेको पछि लाग्ने ? तिनले जे भाषा बोल्छन् त्यसैमा लाग्ने !

हाम्रो विरुद्ध, लोकतन्त्रको विरुद्ध, कांग्रेसको विरुद्ध जहिल्यै पनि खेदो खने । सारा कम्युनिस्ट दरबार र पञ्चायतमा घुसाएर उनीहरुलाई फाइदा बनाएर, उनीहरुलाई माथि माथि पुर्‍याएर, पञ्चातभित्र पनि प्रजातन्त्रवादीको के हालत थियो ? कास्कीमै पनि दुईथरी पञ्च थिए । एकथरी दरबार नजिकका, अर्कोदरी उदारखालका । उदारखालकालाई खेदियो । कट्टरपन्थीहरुको कत्रो हालिमुहाली यहाँ थियो । कांग्रेसलाई कहिल्यै देखिनसहने, निरन्तर खनिएकोखनियै गर्ने, समाप्तै पार्न चाहने हामी चाहिँ राजासँग मिल्नुपर्‍यो मिल्नुपर्‍यो भन्ने ! केही सिप नलागेपछि आजित भएर ‘ल जाऊ राजा’ भन्दिएको हो । यो कुरा लुकाउन चाहन्न म । कांग्रेसले मान्दिएकोले राजा गएको हो । कांग्रेसले कति बोक्ने हो आफैंमाथि घात गरिराख्ने शक्तिलाई !
त्यसैले यो प्रस्ट छ, यो लोकतन्त्रको युग हो । २१ औं शताब्दी हो । यहाँ लोकतन्त्र नै साकार हुनुपर्छ । त्यसको लागि ठूलोा साहस दखाउनुपर्ने आवश्यकता छ। यो संयिवधान बचाउनु आजका सबैभन्दा ठूलो कर्तव्य हो । यो लोकतन्त्र बचाउनु हाम्रो दायित्व हो । हरकिसिमले प्रयत्न गर्नुपर्छ । संसद गएपछि, संविधान गएपछि मेरो पालो आउला कि भन्ने सपना कसैले नदेखे हुन्छ । त्यसपछि आउने हावाहुरी, आँधीबेहरीले कसकसलाई बढार्छ त्यतिखेर थाहा हुन्छ । लोकतन्त्रको रक्षाको लागि, संविधानको रक्षाको लागि, संघीय गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसनै संरक्षक हो । कम्युनिस्टले जनतालाई निराश बनाएका छन् । भरोसाको शक्ति र केन्द्र नेपाली कांग्रेस बन्नुपर्छ । कांग्रेसले नै राष्ट्रियता र स्वाधिनता बचाउने, विकास र समृद्धिलाई अगाडि बढाउने नेतृत्व कांग्रेले गर्नुपर्छ । त्यसको लागि कांग्रेसभित्रै पनि सुधारको आवश्यकता छ । कांग्रेस पनि सच्चिएर जानुपर्छ ।

हामीले यो समाजलाई लोकतान्त्रिकण गर्ने हो । समाजमा एउटा व्यक्ति सर्वेसर्वा बन्ने हामीले लोकतन्त्र सोचेकै होइन । निरंकुश प्रधानमन्त्री हामीले चुनेको हो । यो विश्वमा निर्वाचनबाट धेरै तानाशाह जन्मेका छन् । नेपालमा पनि केपी ओली निर्वाचित तानाशाह बन्न खोजेका छन् । त्यसलाई हामीले कुनै हालतमा स्वीकार्दैनौं । तानाशाह बनेर यो देशमाथि हुकुम चलाउन दिँदैनौं । यो कुरामा हामीले बीपीलाई सम्झेर भन्नुपर्छ, राष्ट्रिय एकता र मेलमिलाप भनेको राष्ट्रका शक्तिहरुका बीचमा एकता र मेलमिलाप हो । राष्ट्रका शक्तिहरु मिलेर राष्ट्रियता बचाउने हो । राष्ट्रका को–को घरेलु शक्तिहरु मिलेर यो राष्ट्र बचाउँने, परिवर्तन बचाउने, संविधान बचाउने हो, मिलेर बचाउनुपर्छ । कसले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्दै छ, तिनलाई हामीले धकेल्दिनुपर्छ । द्विविधामा कोही पनि नरहनुहोला । संविधान बचाउनलाई हामीले सबै किसिमको प्रयास गर्नुपर्छ । कार्यसमितिमा यो कुरा भनिरहेको छु, पर्सी (शनिबार) पनि भन्छु । यो पार्टीभित्र एकमत भएर जानुपर्छ । कोशिष गर्छु म एकमत भएर जाने । तर, एकताको आधार संविधान हो, लोकतन्त्र हो । यो लोकतन्त्र, संविधानको रक्षा कसरी हुन्छ त्यसमा जो–जो एक हुन्छन्, म त्यसमा हुन्छु । भित्रभित्र सिक्वेन्स मिलाएर एक हुन्न । लोकतन्त्रको लडाइँ हो, बादे बादे जायते तत्वबोध । नेपाललाई भूमरीबाट बचाउने नै आजको मेलमिलाप दिवसले दिएको सन्देश हो ।

प्रतिक्रिया दिनुहोस्