नेकपाभित्रको किचलोले प्रतिनिधिसभा विघटन हुनु दुखद्: नेकपा नेता शर्मा



काठमाडौं पुस १७ ।

राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा पार्टीभित्रको किचलोले प्रतिनिधिसभा विघटन हुनु दुखद् भएको बताएका छन् ।

शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको अधिवेशनमा सम्बोधन गर्दै नेता शर्माले सत्तापक्ष नेकपाकै अन्तरविरोधले जनप्रतिनिधि संसद सहिद हुन पुगेको बताएका हुन् । बैठकमा बोल्दै उनले भने, ‘पार्टीको अन्तरविरोधका कारण जनताको संस्था प्रतिनिधि संस्था सहिद हुनुपर्‍यो । दलीय अन्तरविरोधको असर जनप्रतिनिधि संस्थामा पर्नु राम्रो होइन ।

विघटन हुन ठीक कि बेठिक भन्ने बहस छ । जे भयो राम्रो भएन । हाम्रो किचलोको कारण विघटन गर्ने अवस्था आउनु दुखद् विषय हो । यहाँ यो कुरा गर्दा दुस्ख लागेको छ ।’ उनले प्रतिनिधिसभा विघटनको बाछिटा राष्ट्रियसभामा पर्ने बताए । उनले राष्ट्रिय सभा बैठक धेरै महत्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘राष्ट्रको विशिष्ट अवस्थामा हामी राष्ट्रिय सभाको बैठकमा छौं ।

नेकपा विभाजनको संघारमा छ । औपचारिक विभाजनको घोषणा बाँकी छ । अर्कोतिर प्रतिनिधिसभा विभटन भएको छ । राष्ट्रिय सभामा उपस्थित भएका छौं ।’ उनले नेकपा विभाजनले आफूलाई राजनीतिक जीवनकै सबैभन्दा धेरै पीडा भएको सुनाए । ‘पार्टी विभाजनका संघारमा मुटु चिरिएको अनुभव गरेको छु । विगतका विभाजनमा यति धेरै दुस्ख अनुभूति गरेको थिएन, यसपटक धेरै पीडा भएको छ । एक ठाउँमा हुन सक्ने सम्भावना र समीकरण छन् भने, रसायन छन् भने हामी सबै त्यतातिर प्रयास रहौं ।’

उनले नेकपा विचारमा नभई राजनीतिक रुपमा विभाजन भएको बताए । ‘दर्शन, नीति र सिद्धान्तका आधारमा होइन नेकपा राजनीतिक कारणले मात्र विभाजन भएको छ ।
राजनीति लोकतन्त्रको रक्षाका लागि हुनुपर्छ’ उनले भने । प्रतिनिधिसभा विभटन भए पनि जनताका मुद्दा राष्ट्रिय सभाले उठान गर्ने, आवश्यकताअनुसार सरकारलाई सहयोग र खबरदारी गर्ने पनि शर्माले बताए ।

राष्ट्रिय सभा मर्यादित र संयमित ढंगले अगाडि बढ्नेमा आफूले विश्वास लिएको शर्माको भनाइ थियो । राष्ट्रिय सभा अध्यक्षको भूमिका पनि समन्वयकारी हुनेमा आफूले विश्वास लिएको शर्माले बताए । आन्दोलनमा आएका उखु किसानको मृत्यु भएकोमा शर्माले दु:ख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्