प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि तीन अर्ब ४४ करोड बढी अनुदान



काठमाडौं पुस १७ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यो वर्ष झण्डै तीन अर्ब ४५ करोड रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

नेपाल सरकारको पुस ३ गतेको मन्त्रीपरिषदको निर्णयअनुसार आर्थिक वर्ष २०७७ / ७८ को लागि देशैभरिका ६ सय ८८ पालिकालाई तीन अर्ब ४४ करोड ७० लाख रुपैयाँ सशर्त अनुदान प्रदान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

गएको मंसिर १५ गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली ईएमआईएसमा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट गरेको आधारमा अनुदान प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कुन स्थानीय तहमा कति बेरोजगार छन्, त्यही अनुसार अनुदान बाँडिएको हो ।

सशर्त अनुदानको रुपमा प्राप्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत श्रम मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ । श्रमिकको ज्याला न्यूनतम पारिश्रमिक पाँच सय १७ रुपैयाँ तोकिएको छ ।

यस्तै ईएमआईएसमा सूचीकृत बेरोजगारलाई लाभग्राही परिचयपत्र जारी गरेर मात्रै काममा खटाउन समेत मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्