जनताका प्रतिनिधिको थलो खाने अधिकार प्रधानमन्त्रीलाई छैन : पूर्व मन्त्री भट्टराई



झापा पुस १८ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले झापाको बिर्तामोडमा प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा गरेपछि प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। झापाको बिर्तामोडमा आयोजित विरोध सभामा बोल्दै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले दुई जना पाइलट रहेको ठूलो जेट विमानलाई एकजना चालकले दुर्घटना गराएको बताए।

प्रतिनिधि सभा प्रधानमन्त्री केपी शर्मा ओलीले खाइदिएको र जनताका प्रतिनिधिको थलो खाने अधिकार उनलाई नभएको भट्टराईको भनाइ थियो। भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेर नउकास्न आग्रह गरे। अब उनको राजनीतिक जीवन समाप्त भएको बताउँदै भट्टराईले ओलीलाई अब आराम गर्न सुझाव दिनुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईंले अहिलेको संविधान शहिदहरुको बलिदानको उपज भएको बताइन्। प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार नभएको उनले बताइन्। विरोध सभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्