कोभिड प्रभाव: सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक



काठमाडौं,पुष १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अपेक्षाविपरीत पर्यटक आगमन घटेको हो । अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले खस्किएको छ । अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्या सन् २०१८ मा ११ लाख ७२ हजार ७२ थियो ।

कोभिडको संक्रमणले विश्व समुदायलाई प्रभाव पर्दा भ्रमण वर्षले राखेको लक्ष्य पूरा गर्न नेपाललाई कठिन भयो । भूकम्पपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन महामारीले एकैपटक थपा पर्‍यो । कोभिडकै कारण गत वर्ष नेपालले अन्तरराष्ट्रिय उडानमा ९ महीनाभन्दा बढी समय प्रतिबन्ध लगाउँदा पर्यटक आगमन ठप्प बनेको थियो ।

अध्यागमन विभागका अनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३२० जनाले नेपाल भ्रमण गरेका छन् । यसपछि चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये हवाई मार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० जना पर्यटक नेपाल आएका छन् भने स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुपर्‍यो । कोरोना महामारीकै कारण मुलुकको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने पर्यटन व्यवसायीहरूको धारणा छ । सन् २०२० लाई असामान्य अवस्था भन्दै उनीहरूले अब स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।

कोभिडकै कारण पर्यटक आगमनमा कमी आए पनि सन् २०२० मा भएका केही भीआईपीहरूको नेपाल भ्रमणले आउने दिनमा बाह्य पर्यटकलाई नेपाल ल्याउन सकिने पर्यटन व्यवसायीहरूको धारणा छ । कोभिड–१९ को महामारीका कारण करीब बन्दजस्तै रहेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा हिमाल आरोहणले गर्दा थोरै भए पनि चलायमान भएको थियो । कोरोनाकै बीच विदेशी उच्चपदस्थ व्यक्तिहरूको नेपाल आगमन र हिमाल आरोहणले यस क्षेत्रलाई थोरै भए पनि चलायमान बनाएको र यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीहरूको धारणा छ ।

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लासहितको टोलीले ६ हजार ८१४ मीटर अग्लो आमादब्लम हिमाल आरोहण गरेका थिए भने बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले ८ हजार १६३ मीटरको मनास्लु हिमाल आरोहण गरेका थियो । कोभिडले घटेको पर्यटन लयमा फर्कन समयल लाग्ने र अहिले बाह्य पर्यटक आउने अवस्था अझै बनिनसकेको अवस्थामा आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव केदारबहादुर अधिकारीको धारणा छ । उनले यो अवस्थामा केही पर्यटनका प्याकेजका साथमा आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताए । मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन अब आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने र त्यसका लागि सरकार थप जिम्मेवार बन्नुपर्ने होटेल संघ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले सरकारले गर्छु भनेका कामहरू कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले २०२० मा कोरोनाका कारण पर्यटनबाट अपेक्षित लाभ लिन नसकिरहेको सन्दर्भमा अब आन्तरिक पर्यटनबाटै मुलुकको पर्यटनलाई पुनर्जीवित गर्दै अगाडि जानुपर्ने बताए । अध्यागन विभागका अनुसार नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, अमेरिका, श्रीलंका, थाइल्याण्ड, बेलायत, श्रीलंका, बंगलादेश जापान र जर्मनी रहेका छन् । गतवर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्