एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला



काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न पुनः आवेदन खुला गरेको हो । यस्तो सुविधा उपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरू वाणिज्य, विकास र वित्त कम्पनी०ले माघ १६ गतेसम्म ग्राहकको सूचीसहित आवेदन पेश गर्नुपर्नेछ ।

यसअघि भदौ १ गतेदेखि असोज मसान्तसम्म एकमुष्ट पुनर्कर्जाका लागि आह्वान गरिएको थियो । उक्त आह्वानमा रू। १ खर्ब ४८ अर्ब मध्ये ५० अर्ब मात्र गएकाले बाँकीका लागि फेरि सूचना जारी गरिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । यससँगै राष्ट्र बैंकले पुनर्कर्जा कोष करीब ४२ अर्ब बराबरको भए पनि यसको ५ गुणा अर्थात् २ खर्ब १२ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा दिन सक्ने क्षमता भएको उनले बताए ।

यद्यपि पुनर्कर्जाका लागि छुट्याएको २ खर्बमध्ये चालू आवमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत ७० प्रतिशतलाई दिने कार्यविधिमा व्यवस्था गरेको छ । साथै यसमध्ये २० प्रतिशत पुनर्कर्जा भने राष्ट्र बैंकले मूल्यांकनका आधारमा वितरण गर्ने छ । यसबाहेक बाँकी १० प्रतिशत लघुवित्त संस्थामार्फत पुनर्कर्जा वितरण गर्ने व्यवस्था मौद्रिक नीतिले गरेअनुसार कार्यविधिमा समेत उल्लेख छ । तर, अझैसम्म पनि यस्तो कर्जा लघुवित्तका लागि भने वितरण गरिएको छैन ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्