सर्वोच्चलाई सभामुख सापकोटाको जवाफ : प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’



काठमाडौं पुस १९ ।

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।

अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । सापकोटाले अविश्वास प्रस्तावको दर्ता समयसमेत उल्लेख गरेर लिखित जवाफ पठाएका उनको सचिवालयले जनाएको छ ।

नेपालको संविधानले यो परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद् विघटन गर्न नमिल्ने उनले पठाएको जवाफमा भनेका छन् ।

प्रतिनिधि सभा विघटनलाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय र संसद् सचिवालयसँग प्रतिनिधि सभा विघटन गर्नुको कारण आइतबार सम्मको समय दिएर लिखित जवाफ मागेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिनिधि सभा विघटनपछि नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्