प्रचण्ड–नेपाल पक्षमा माधव नेपालको संयोजकत्वमा कार्यदल गठन



काठमाडौं पुस १९ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।

पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् । गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे सोमबार बस्ने स्थायी कमिटी बैठकमा फेरि छलफल गरिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्