कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुदैन, तोकिएकै समयमा चुनाव भएरै छाड्छ : प्रधानमन्त्री ओली



काठमाडौं पुस १९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताएका छन् ।

काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठनअनेरास्ववियु को आफू निकटको भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गरे । कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उहाँले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरेका छन्। प्रतिनिधि सभाको चुनाव नेपाली नागरिक र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ रहेको छ । देशलाई अलमलमा बस्न नदिन चुनाव आवश्यक रहेको उहाँको भनाइ रहेको थिया्। पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेको तथा संविधान संशोधन भएको बहानामा गुटबन्दी गरेकाले सङ्गठन गतिशील नभएको प्रधानमन्त्री ओलीले दाबि गरे ।

पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउन मात्रै समय बरबाद गरेकाले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको उनको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूले नै पाउने बताएका छन् । उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डताको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताएका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले पार्टी फुटाउन र आफूमाथि खनिन खुमलटारमा मात्रै दुई सय ८० पटक बैठक बसेको बताए। उनले प्रचण्ड–नेपाल समूहलाई आफ्नो समूहमा आए अपराध माफ गरिदिनेसमेत बताएका छन् । आफूले प्रचण्डलाई अध्यक्ष पद कायमै राखेर कार्यकारी अधिकार मात्रै हटाएको भन्दै उनले अरू वरिष्ठ नेताहरू पनि जस्ताको त्यस्तै पदमा रहेका र आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गरे ।

यसअघि गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । संसद् विघटन पनि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्