संसद विघटनको विरोधमा काग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं पुस १९ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

आइतबार सानेपा स्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय समिति बैठकले पुस २५ गते तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते सात सय ५३ स्थिानिय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानिय तहका ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

जिल्ला समितिले आफ्नो अनुकूलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक सङ्गठनहरूले आ–आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २० कात्तिक २०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्