एयरपोर्टबाट ५० राउन्ड गोलीसहित पक्राउ



काठमाडौं पुस २० । झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् ।

महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको हो । राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जानेक्रममा रहेको प्रहरीले जनाएको छ । सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको उनले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्