प्याजको मूल्य घट्यो



काठमाडौ,पुष २१ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गतेबाट हटाएको हो ।

प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै सुरुआती चरणमा प्रतिकिलो  १० रूपैयाँसम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार साेमवार प्रतिकिलो ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ । यसअघि पुस १५ गते प्रतिकिलो ६० देखि ७० मा कारोबार भइरहेको थियो । यसैगरी पुस १० गते प्रतिकिलो ७० देखि ८० सम्म कारोबार भएको थियो ।

कालीमाटीको तथ्याङ्कअनुसार प्रतिबन्धमा समेत विभिन्न नाका हुँदै पर्याप्त मात्रामा प्याज आयात भएको पाइएको छ । प्रतिबन्धको सुरुआती दिनमा प्याज आयातमा केही कमी आए पनि पछिल्ला दिनहरुमा पर्याप्त मात्रामा आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोज महिनामा मात्र ७ सय ७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौको अन्तिम साता प्रतिबन्ध लगाए पनि असोजमा उल्लेख्य मात्रामा प्याज भित्रिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्