मल ल्याउन अझै १ महिना लाग्ने



काठमाडौं, पुस २१ । नेपाल सरकारले बंगलादेशबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत किनेर ल्याउने भनिएको ५० हजार मेट्रिकटन (मेटन) युरिया मल आयात हुन अझै १ महीना लाग्ने देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले मल खरीद तथा आयातका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी बंगलादेश सरकारलाई औपचारिक पत्र पठाएको थियो । दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएको १८ दिनपछि सोमवार बंगलादेशले औपचारिक रूपमा उक्त पत्र स्वीकृत गरी प्रतीतपत्र ९एलसी० खोल्न नेपाललाई बाटो खुला गरिदिएको छ ।

मल आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बुधवारसम्म एलसी खोल्ने जानकारी दिएको छ । कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार नेपालले एलसी खोलेको १० दिनपछि बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले नेपाललाई मल उपलब्ध गराउन थाल्नेछ ।

त्यसपछि उक्त मल नेपालसम्म आइपुग्न करीब महीना दिनजति लाग्न सक्ने उनले बताए । उक्त मल अबको १ महीनामा बंगलादेशको चटगाउँ मल मंगला जलमार्गबाट जेस्वर वा खुल्ना हुँदै रोहन–सिंहवादबाट रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको भैरहवा, वीरगञ्ज र विराटनगरका गोदामसम्म आइपुग्नेछ । बंगलादेश सरकारले पत्रको जवाफ पठाउन ढिलाइ गरेका कारण खरीद प्रक्रिया लम्बिन गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताएका छन् । मल खरीदका लागि कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका बीच यही पुस २ गते सम्झौता भएको थियो ।

बंगलादेश सरकारले सरकारी कम्पनीमार्फत मल दिने नभई त्यहीँको निजी कम्पनीमार्फत मल किनेर दिन लागेकाले पनि प्रक्रियामा केही ढिलाइ हुन गएको बुझिएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्