संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव राष्ट्रियसभामा दर्ता



काठमाडौं पुस २१ ।

संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीर सहित नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार गर्न नमिल्ने भएकाले राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने उनको जिकीर छ । राष्ट्रिय सभा सदस्य विडारीले आइतबार उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेको बताए । प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको जिकीर गरे ।

संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकका उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु,’ विडारीको प्रस्तावमा भनिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरू भएपछि यो अध्यादेश पेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्