उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?



पोखरा, पुस २२ । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो ।

मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर (पीएम) २।५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २।५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका सहरहरूमा विराटनगर, जनकपुर, काठमाडौंको शंखपार्क, हेटांैडा, कञ्चनपुरको महेन्द्रनगर र चितवनको सौराहा छन् । मंगलबार रातिको पीएम २।५ को मात्राअनुसार विराटनगरमा १५५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, जनकपुरको १४८ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर, काठमाडौंको शंखपार्कको १२८ दशमलव ६९ माइक्रोग्राम प्रतिघनमिटर, हेटौंडाको ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, कञ्चनपुर, महेन्द्रनगरको ८६ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर र चितवन, सौराहको ८१ माइक्रोग्राम प्रतिघनमिटर गुणस्तर मापन गरिएको छ ।

यसैगरी धनकुटार र पोखरामा दीर्घकालीन रोग भएका बिरामीलाई असर गर्ने किसिमको वायुको गुणस्तर मापन गरिएको वातावरण विभागले जनाएको छ । सरकारले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले पीएम २।५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २।५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भए मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ । सामान्यतया पीएम २।५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २।५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्