न्यायाधीश कार्की संवैधानिक इजलासमा बसेनन्,अर्को सुनुवाइ बुधबार हुने



काठमाडौं पुस २२ ।

न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका हुन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानन्यायाधीश छँदा महान्यायधीवक्ता रहेका कार्की प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् ।

आजको सुनुवाइमा पनि वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे प्रश्न उठाएका थिए ।वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ हुने इजलासमा बस्न तपाईंको नैतिकताले दिन्छ श्रीमान् ? भन्दै प्रश्न गरेका थिए ।

‘प्रधानमन्त्री ओलीको महान्यायाधीवक्ता बनेको र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलको ल फर्मको पार्टनर भएको व्यक्ति कसरी संसद् विघटनविरुद्धको बहसमा संवैधानिक इजलासमा बस्न मिल्छ ? ’ थापाले प्रश्न गरेका थिए ।

त्यसपछि न्यायाधीश कार्कीले आफू यो विषय हेर्ने संवैधानिक इजलासमा नबस्ने बताएका थिए । संवैधानिक परिषदमा सुरू भएको प्रतिनिधिसभा सम्बन्धी मुद्दाको अर्को सुनुवाइ अब अर्को बुधबार हुने गरी स्थगित भएको छ । आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ अर्को बुधवार हुने गरी तोकेका छन् । अर्को बुधवार न्यायाधीश कार्कीको ठाउँमा अर्को न्यायाधीश बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्