राजनीतिक परिवर्तनबाट व्यवसायमा असर गर्दैन : मन्त्री गुरुङ



काठमाडौं पुस २२ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै संकटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशंका गरे पनि त्यस्तो केही नहुने स्पष्ट पारे ।
उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्ने छ ।
संघका पूर्व अध्यक्ष समेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पुर्‍याउने उनको भनाइ छ । ‘मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इ बिजनेसमार्फत अघि बढ्नुहोस्,’ उनले भने ।

नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने औंल्याए । व्यवसाय राम्रो हुँदा रोजगारीको सिर्जना हुने र वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था हट्ने उनले बताए । संघका अध्यक्ष गोविन्द घिमिरेले सरकारले अहिले ५० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई १० प्रतिशत सहुलियत दिने गरेकामा त्यसलाई बढाएर २० प्रतिशत पुर्‍याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्