सरकारले उत्कृष्ट काम गरेको मन्त्री भट्टको दावी



कैलाली पुस २२ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको बताए ।

सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले भारतले मिचिएको भूमि फिर्ता ल्याउने विषयमा पनि कुटनीतिक प्रयास भइरहेको बताए ।‘वर्तमान सरकारले भारतले मिचेको भूमिसहितको नक्सा सार्वजनिक गर्ने आँट गरेको छ’ मन्त्री ठगुन्नाले भने, ‘अब त्यो भूमि फिर्ता ल्याउने विषयमा छलफल भइरहेको छ ।’

विगतमा विकास निर्माणको काममा वन मन्त्रालय वाधक बनेपनि अब भने सहजै काम हुने वन मन्त्री प्रेम आलेले बताए । मन्त्री आलेले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिएको समेत जानकारी दिए । ‘२ वर्ष हुने काम २ महिनामा सक्नु भनेको छु’ उनले भने ‘विगतको जस्तो सुस्त गतिमा नभई द्रुत गतिमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएको छु ।’

श्रम मन्त्री गौरीशङ्कर चौधरीले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाइने बताए । उनले वैदेशिक रोजगारीमा हुने ठगी अन्त्य गर्ने र श्रम स्वीकृतिलाई सहज बनाइने समेत दाबी गरेका थिए । बुधवार नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाले अध्यक्षतामा प्रदेश कमिटिको चौथो बैठक बसेको थियो । जसमा प्रदेश कमिटी थप गरेर ५५१ सदस्यीय बनाइएको छ ।

कार्यक्रममा अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कदम उचित भएको बताए । उनले संसद् भंग गर्ने विशेष अधिकार प्रधानमन्त्रीसँग रहेको भन्दै अदालतले राजनीतिक निर्णयमा हस्तक्षेप नगर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्